काठमाडौँ । नेपालले भुटानलाई टाइब्रेकरमा हराउँदै फाइनलमा प्रवेश गरेको छ । यू-२० च्याम्पियनसिपको फाइनलमा भुटानलाई ४-१ ले पराजित गर्दै आइतबार फाइनलमा प्रवेश गरेको हो ।
नेपाली गोलरक्षक जियारथ सेखले भुटानका दुई प्रहार जोगाए र आफैं निर्णयक गोल गरेका हुन् । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलको ९० मिनेट १-१ को बराबरीमा समाप्त भएपछि सिधै पेनाल्टी सुट आउटमा गएको हो ।
भुटानले ५६औं मिनेटमा अग्रता लिएको थियो । पेनाल्टी एरिया बाहिरबाट जेत्सुन दोर्जेले शक्तिशाली प्रहार गर्दै सुन्दर गोल गरेका हुन् । नेपालले ७८औं मिनेटमा बराबरी गोल फर्काउन सफल रह्यो ।
लछु थापाको लामो पासलाई हेड गर्दै निराजन धामीले गोल गरेका थिए । त्यसअगाडि भुटानका किङजाङ तेन्जिन दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि टिम १० खेलाडीमा सीमित भएको थियो ।
अन्तिम सेमिफाइनलमा सोमबार भारत र बंगलादेश खेल्नेछन् । फाइनल बुधबार दशरथ रंगशालामा हुनेछ ।