शनिश्चरे । झापाको अर्जुनधारामा आयोजित मच्छिन्द्र स्मृति स्मृति फुटबल प्रतियोगिताको उपाधि आवद्ध बचत तथा ऋण सहकारीले जितेको छ ।
अर्जुनधारा ९ को गोलधाप युवा क्लबले आयोजना गरेको प्रतियोगितामा जागृति कृषि समूहलाई टाइब्रेकरमा ४-३ गोलअन्तरमा पराजित गर्दै आवद्धले उपाधि रक्षा गरेको हो ।
निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । सुरुवाती अग्रता जागृतिका माधव दाहालले खेलको १० मिनेटमै गोल गरेका थिए । तर, दोस्रो हाफको १ मिनेटमै आवद्धका इन्द्र जवेगुले गोल गरेर बराबरी गरेका हुन् ।
टाइब्रेकरमा बाजी मारेको आवद्धका गोलरक्षक नरेन्द्र राई उत्कृष्ट गोलरक्षक, आवद्धकै दीपक बुढाथोकी सर्वोत्कृष्ट खेलाडी बन्दा जागृतिका रमेश चौहान सर्वाधिक गोलकर्ता र माधव दाहाल म्यान अफ दी म्याच बने ।
विधागत पुरस्कारतर्फ जनही २ हजार ५ सय र ट्रफी तथा म्यान अफ दी म्याच बन्ने खेलाडीले १ हजार ५ सय र ट्रफी पाए । विजेता आवद्धले नगद १५ हजार ५५१ र ट्रफी तथा उपविजेता जागृतिले नगद ७ हजार ५५१ मा चित्त बुझायो ।
स्थानीय फुटबल खेलाडी मच्छिन्द्र सुब्बाको परिवारको सहयोगमा ८ वटा हाेटल, अटाे, कृषि, सहकारीलगायत व्यावसायिक समूहले प्रतियोगितामा सहभागिता जनाएका थिए । विजेताको नगद पुरस्कार मच्छिन्द्र सुब्बाका भाइ एवम् अर्जुनधारा नगर सभा सदस्य बुद्धिमान लिम्बू र उपविजेताको नगद पुरस्कार स्थानीय डीएन फेसन वेयर तथा यस्मिन ब्यूटी पार्लरकी प्रोपाइटर निशा लिम्बूले सौजन्य गरेका थिए ।
गोलधाप युवा क्लबका अध्यक्ष सुरेन राईको अध्यक्षता तथा अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, बोर्ड सदस्य गौरीमाया चिमरिया, नगर खेलकुद विकास समितिका सचिव खगेन्द्र लिङदेनलगायतले आफ्ना भनाइ राखेका थिए ।