काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा सानदार जित निकालेको छ । आफ्नो दोस्रो खेलमा पहिलो जित निकाल्दै पुलिसले शुक्रबार सुदूरपश्चिम प्रदेशमाथि ९-० को फराकिलो जित हासिल गरेको हो ।

 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा पुलिसलाई जित दिलाउन निरु थापा र दिपा न्यौपानेले ह्याट्रिक पूरा गरे । पुजा राना मगर, अनुष्का शेर्पा र घिमकुमारी गुरुङले समान १-१ गोल गरे ।

 

निरुले‌ आठौं, ६८औं र ७७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यस्तै दिपाले २९औं, ४६औं र ७०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । पुजाले २८औं, ४६औं मिनेटमा घिमकुमारी र इन्ज्युरी समयमा अनुष्काले गोल गर्दै पुलिलको गोलअन्तरलाई फराकिलो पारिन् ।

 

पहिलो खेलमा नेपाल एपिएफ क्लबसँग बराबरीमा रोकिएको पुलिसले पहिलो जित निकालेको हो । सुदूरपश्चिमले भने लगातार दोस्रो हार बेहोरेको हो । पहिलो खेलमा सुदूरपश्चिम बागमती युथ क्लबसँग पराजित भएको थियो ।

 

आजै भएको पहिलो खेलमा संकटा क्लबले चन्द्रपुर नगरपालिकालाई गोलरहित बराबरीमा रोकेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ।