बिर्तामोड । अन्तर्राष्ट्रिय आमन्त्रित गोल्डकप सञ्चालन गर्दै आएको न्यू स्टार क्लब बिर्तामोड ७ ले असोजमा जिल्लास्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ ।

 

खोपबाडी खेलमैदानमा न्यू स्टारले आज आयोजित पत्रकार सम्मेलनमा असोज १५ गतेदेखि २२ गतेसम्म फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

 

गोल्डकप ३ वर्षमा गर्ने भए पनि वार्षिकरुपमा जिल्लास्तरीय प्रतियोगिता गर्ने क्लबको उद्देश्यअनुसार जिल्लाका ८ टिमबीच प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष कृष्णप्रसाद लिम्बूले जानकारी दिए ।

 

उनका अनुसार प्रतियोगिताको विजेताले नगद ५१ हजार र उपविजेताले नगद ३१ हजारसहित आकर्षक ट्रफी पाउने छ । यसैगरी, प्रत्येक खेलको प्लेयर अफ दी म्याच बन्ने खेलाडीले नगद २ हजार पाउने छन् ।

 

विधागततर्फ पाँच वटा विधामा जनही ३३ हजार र बेस्ट प्लेयर बन्ने खेलाडीले ट्रफीसहित नगद ५ हजार पाउने आयोजकले जनाएको छ ।

 

करिब ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिता सम्पन्न गर्न वडा कार्यालयसहित स्थानीय दाताबाट आर्थिक संकलन हुने आयोजकले अपेक्षा लिएको छ ।

 

झापा जिल्ला फुटबल संघ र रेफ्री संघको प्राविधिक सहयोग रहने प्रत्योगितामा किट पार्टनर बिर्तामोडको जोया स्पोर्टस् ब्राण्ड रहेको छ ।

 

क्लबका सचिव सरोज खत्रीको सञ्चालन तथा उपाध्यक्ष डम्बर थापाले स्वागत गरेको पत्रकार सम्मेलनमा क्लबका पदाधिकारीसहित फुटबल संघ झापाका अध्यक्ष भगिरथ आले मामा, रेफ्री संघ प्रदेश महासचिव प्रदिप बस्नेत लगायतको उपस्थिति रहेको थियो ।