चारपाने । झापाको बिर्तामोड २ स्थित सोमबारेमा असोज दोस्रो साता ‘झापा जिल्लास्तरीय सोमबारे नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

 

स्थानीय सोमबारे योङ स्टार फुटबल क्लबको आयोजनामा असोज ७ देखि १३ गतेसम्म फुटबल प्रतियोगिता आयोजना हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सोमबारे बाल विकास केन्द्रको खेलमैदानमा हुने प्रतियोगितामा जिल्लाका १२ टोलीको सहभागिता रहने छ ।

 

प्रतियोगिता सम्पन्न गर्न अनुमानित ६ लाख रुपैयाँ खर्च हुने आयोजक क्लबका अध्यक्ष उमेश राईले जानकारी दिए । प्रतियोगितामा आयोजक टिम सोमबारेसँगै, राजगढ एफसी, जलथल एफसी, सैैनिक एफसी, चन्द्रगढी एफसी, बुट्टाबारी एफसी, बिर्तामोड युनाइटेड, शनिश्चरे एफसी, अर्जुनधारा एफसी, कनकाई स्पोर्टिङ क्लब, शिवसताक्षी एफसी र घैलाडुब्बा एफसीको सहभागिता रहने आयोजकले जनाएको छ ।

 

प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार र उपविजेता टोलीले नगद २५ हजार ५ सयसहित ट्रफी प्रदान गरिने आयोजक क्लबका सचिव माधव खरेलले जानकारी दिए । यसैगरी, विधागततर्फ पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

खेलप्रेमीको आर्थिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताबाट केही रकम बचत गरेर उज्यालो सोमबार अभियानअन्तरगत सडकबत्ती जडान गरिने आयोजकले जनाएको छ ।

 

पत्रकार सम्मेलनमा बिर्तामोड २ का वडाध्यक्ष किशोरकुमार पौडेल, सामाजिक ब्यक्तित्व तथा खेलप्रेमी धर्म लक्सम्वा, क्लबका कोषाध्यक्ष बुधराज बेघालगायतको उपस्थिति रहेको थियो ।