
काठमाडौं । एन्फा महिला लिग फुटबलमा बुधबार कोशी प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबसँग पहिलो हार व्यहोरेको छ । पुलिस कोशीलाई पराजित गरेसँगै शीर्ष स्थानमा उक्लिएको छ ।
पुलिसले कोशीलाई ४-० ले पराजित गर्यो । पुलिसको चौथो खेलमा यो तेस्रो जित हो । समान खेलमा कोशीको यो पहिलो हार हो । आज दिउँसो भएको पहिलो खेलमा पुलिसलाई जित दिलाउन निर्मला उपाध्याय, अनुष्का शेर्पा, सम्झना लावती र अमृता जैसीले समान १-१ गोल गरे ।
यसैबीच, आजै संकटाले कर्णाली प्रदेशलाई २-० ले पराजित गर्यो । संकटालाई जित दिलाउन सेलिना अनिमा र टोम्लोफेले समान १-१ गोल गरे । संकटाका लागि पहिलो हाफको इन्ज्युरी समयमा अनिमाले पहिलो गोल गरिन् ।
संकटाका लागि महिला लिगमा यो पहिलो गोल हो । टोम्लोफेले ५५औं मिनेटमा दोस्रो गोल गर्दै संकटालाई पहिलो जित दिलाईन् । संकटा ४ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ । कर्णाली भने अंकबिहीन रुपमा तालिकाको नवौं स्थानमा छ ।