शनिश्चरे । झापाको अर्जुनधारा ६ लक्ष्मीपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयको आयोजनामा बिहीबारदेखि नगरस्तरिय अन्तरमाध्यमिक विद्यालय छात्र भलिबल प्रतियोगिता शुरु भएको छ ।
विजया दशमीको अवसरमा आयोजित उक्त प्रतियोगिताको उद्घाटन खेलमा आयोजक लक्ष्मी माविले अर्जुनधारा १० को कालिका माविलाई २५-१७ र २५-१२ को सोझो सेटमा हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।
आजै पहिलो चरणका ६ खेल सञ्चालन भएका थिए । असोज ५ गते हुने फाइनल खेलको विजेताले नगद २० हजार र उपविजेता टिमले १५ हजारसहित आकर्ष ट्रफी पाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर राईले जानकारी दिए ।
उनका अनुसार फाइनल खेलको प्लेयर अफ दी म्याच बन्ने खेलाडीले नगद १ हजार १११ सहित ट्रफी पाउँदा सर्वोत्कृष्ट खेलाडीले १ हजार ५५५ रुपैयाँ पाउने छ ।
प्रतियाेगिताकाे बेस्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र डिफेन्सले जनही १ हजार १११ रुपैयाँ पाउने छन् । प्रतियोगितामा अर्जुनधाराका १५ वटा माविको सहभागिता रहेको छ ।
प्रतियोगिताको अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी शिक्षक प्रतिनिधि सरिता भट्टराईले स्वागत गरेकी थिइन् ।
समितिका अध्यक्ष राईको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङनाम, अर्जुनधारा ६ का निवर्तमान वडाध्यक्ष लोकनाथ गौतमलगायतले मन्तव्य राखेका थिए ।
प्रधानाध्यापक निर्मला पोखरेलले प्रतियोगिताको औचित्य राखेको कार्यक्रमको सञ्चालन शिक्षक एवम् खेलकुद विभाग सदस्य सुशिल ढुङ्गेलले गरेका थिए ।