काठमाडौं । एन्फा महिला लिगमा कोशी प्रदेशविरुद्ध अप्रत्यासित नतिजा निकाल्दै विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ एफसीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको पहिलो खेलमा एपिएफले कोशी प्रदेशमाथि ८-० को फराकिलो जित निकाल्यो । रश्मिकुमारी घिसिङले ५ गोल गरेको खेलमा विभागीय टोली एपिएफ क्लब अपराजित रहदै शीर्ष स्थानमा कायमै छ ।
एपिएफको जितमा रश्मिकाबाहेक अनिता बस्नेतले २ तथा अनिता केसीले १ गोल गरिन् । एपिएफका लागि पाँचौं मिनेटमा अनिताले गोल गर्दै अग्रता दिलाइन् ।
अनिता बस्नेतले १९ औं र ८०औं मिनेटमा गोल गरिन् । रश्मिले ५६औं, ८१औं, ८५औं, ८७औं र ८८औं मिनेटमा गोल गरी एपिएफलाई सहज जित दिलान् । ७ खेलमा एपिएफको १९ अंक पुगेको छ।
आजै भएको दोस्रो खेलमा त्रिभुवन आर्मी एफसीले सानदार जित दर्ता गरेको छ । आर्मीले चन्द्रपुर नगरपालिकामाथि १०-० गोलको नतिजामा जित दर्ता गरेको हो ।
अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको आर्मीले सातौं खेलमा पाँचौ जित निकालेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकी अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना राना मगरले समान १-१ गोल गरिन् ।
जितपछि आर्मी ७ खेलबाट १६ अंकका साथ दोस्रो स्थानमा कायमै रहेको छ । पराजित चन्द्रपुर ७ अंकका साथ छैटौं स्थानमा छ ।