ताप्लेजुङ । प्रथम अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि पाँचथरका विशाल राईले जितेका छन् । अन्तर्राष्ट्रिय रेडपान्डा दिवसका सन्दर्भमा शनिबार आयोजित प्रतियोगितामा विजयी उनले ४ घण्टा १६ मिनेटमा निर्धारित दूरी पार गरेका हुन्।
उनले १ लाख पुरस्कार प्राप्त गर्नेछन् । तर, यो रकममा कर कट्टी हुने आयोजकले बताएका छन् । पुरुषतर्फको प्रथम बझाङका करण रावल भए । उनी उपाधि विजेता विशालसॅग एक मिनेटले मात्रै पराजित भए ।
उनले ४ घण्टा १७ मिनेटमा निर्धारित दूरी पार गरे । पुरुष द्वितीय ताप्लेजुङका रमेश लिम्बू र तृतीय सोलुखुम्बुका अर्जुन कुलुङ राई भए । पुरुषतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः ५०, ३० र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ५१ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा समग्र धावकमध्ये एक जना सर्वोत्कृष्ट र बाँकी पुरुष र महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने ब्यवस्था रहेको थियो । प्रतियोगितामा सहभागी ताप्लेजुङ, पाँचथर र इलामका धावकले १५, १० र ५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।