शनिश्चरे । झापाको अर्जुनधारामा आयोजित नगरस्तरीय अन्तरमावि भलिबल प्रतियोगिताको उपाधि रुपरत्न मेमोरियल बोर्डिङ स्कुलले जितेको छ ।

 

लक्ष्मी माविको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा उसैको खेलमैदानमा लक्ष्मी माविको बी टिमलाई पराजित गरेर रुपरत्नले नगद २० हजार र ट्रफी पाएको हो ।

 

लक्ष्मी माविविरुद्ध रुपरत्नले २६-२४, २०-२५, २५-१७ र ३०-२८ को साँघुरो सेटमा जित निकालेको हो । उपविजेता बनेको लक्ष्मी माविले नगद १५ हजारमा चित्त बुझाएको छ ।

 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रुपरत्नका लक्ष्मी प्रधान भए । उनले नगद १ हजार ५५५ र ट्रफी पाए । यसैगरी, रुपरत्नकै प्रज्वल कार्की डोली बेस्ट स्पाइकर र सुरज दास बेस्ट ब्लकर भए ।

 

यस्तै, लक्ष्मी माविका चक्रबहादुर कार्की बेस्ट सेटर, रोशन अधिकारी बेस्ट सर्भर र सुमन बुढा क्षेत्री बेस्ट लिब्रो बने । उनीहरुले जनही एक हजार पाँच रुपैयाँ पाए ।

 

विजेता तथा उपविजेतालाई अर्जुनधाराका मेयर बलदेवसिं गोम्देन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर राई, अर्जुनधारा ६ का वडाध्यक्ष हरिषचन्द्र बाँस्तोला, प्रहरी नायव उपरीक्षकद्वय प्रकाश विष्ट, दिव्यराज कोइराला, नगर खेलकुद विकास समितिका सचिव खगेन्द्र लिङदेनलगायतले पुरस्कार वितरण गरेका थिए ।

 

प्रतियोगितामा अर्जुनधारा नगरपालिका क्षेत्रका १४ वटा माविका १५ टोलीको सहभागिता रहेको थियो । विद्यालयकी प्रधानाध्यापक निर्मला पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक एवम् खेलकुद विभागका सदस्य सुशिल ढुङ्गेलले गरेका थिए ।