उर्लाबारी । बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा प्रदान गरिने अढाई किलो चाँदीमा दुई तोला सुनजडित गोल्डकपको ट्रफी सार्वजनिक गरिएको छ ।

 

गोल्डकपको मूल्य झण्डै आठ लाख रुपैयाँ परेको छ । आयोजक एलएक्ससिटी फुटबल क्लबले बेलबारी नगरपालिकाको सभाहलमा आइतबार पत्रकार सम्मेलन गरी क्लबले गोल्डकपको ट्रफी सार्वजनिक गरेको हो ।

 

बेलबारी ११ निवासी चलचित्र निर्माता पोपिराज राई र ज्योतिराज राईले आफ्ना स्व. बुबाको स्मृतिमा गोल्डकप सौजन्य गरेका हुन् । राईले पत्रकार सम्मेलनकै अवसरमा गोल्डकप बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईलाई हस्तान्तरण गरे ।

 

गोल्डकप असोज ११ देखि १९ गतेसम्म बेलबारी ११ को लक्ष्मी खेल मैदानमा हुँदैछ । सातौँ संस्करणदेखि प्रतियोगिता लगातार तीन पटक जित्ने टिमले गोल्डकप सुरक्षित गर्नेछ ।

 

पहिलोपटक १० टिमले सहभागिता जनाउने प्रतियोगितामा नेपाल पुलिस क्लब, बुटवल लुम्बिनी फुटबल क्लब, भारतको दलसिंहपारा फुटबल क्लब, विग्रेड ब्वाइज र आयोजक एलएक्ससिटी फुटबल क्लबले पोल ‘बी’ बाट प्रतिस्पर्धा गर्नेछन् ।

 

यस्तै पोल ‘ए’ बाट चित्लाङ फुटबल क्लब काठमाडौँ, रारा फुटबल क्लब धनकुटा, सहलेस फुटबल क्लब सिराहा, भोजपुर जिल्ला फुटबल सङ्घ र झापा ११ एफसीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका विजेताले आठ लाख रुपैयाँ र उपविजेताले चार लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।

 

खेल आयोजना गर्न ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रस्तावित रङ्गशालामा ३५ सय दर्शक अटाउने अस्थायी प्यारापिट निर्माण भइसकेको क्लबका उपाध्यक्ष ज्ञानुराज राईले बताए ।