शनिश्चरे । झापा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिं गोम्देनले शनिश्चरे बहुमुखी क्याम्पसका लागि बस उपलब्ध भइसकेको जानकारी दिएका छन् ।

 

अर्जुनधारा ७ मा रहेको शनिश्चरे बहुमुखी क्याम्पस नगरको एकमात्र बहुमुखी क्याम्पस हो । आज आयोजित ११औं साधारणसभा तथा १८औं स्थापना दिवसको उद्घाटन मन्तव्यमा नगर प्रमुख गोम्देनले उक्त जानकारी दिएका हुन् । उनले भगिनी सम्बन्धबाट बस प्राप्त भइसकेको बताउँदै केही कागजी प्रक्रियाले मात्र अड्किएको बताए ।

 

नगर प्रमुख गोम्देनले शनिश्चरे बहुमुखी क्याम्पस अर्जुनधारा नगरकै गहना भएको बताउँदै क्याम्पसको विकास र विद्यार्थीहरुको सहजताका लागि सक्दो सहयोग गर्ने बताए । उनले क्याम्पसका लागि नगरपालिकाबाट १० लाख रुपैयाँ विनियोजन भएको समेत सुनाए ।

 

विपन्न परिवारका सदस्य अध्ययन गर्ने क्याम्पसको गुणस्तरीय शिक्षाका लागि प्राध्यापक तथा कर्मचारीले कन्जुस्याइँ नगरी अहोरात्र खट्न आग्रह पनि उनले गरेका छन् ।

 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष हेमराज खरेलको सभापतित्व र नगर प्रमुख गोम्देनको प्रमुख आतिथ्यमा साधारणसभा तथा स्थापना दिवसमा संविधानसभा सदस्य भक्तबहादुर खपाङ्गी, पूर्वअध्यक्ष सरोजकुमार ओलीलगायतले शुभकामना दिँदै अर्जुनधारा क्षेत्रको शैक्षिक उन्नतिमा शनिश्चरे बहुमुखी क्याम्पसको भूमिका महत्वपूर्ण रहेको बताए ।

 

सोही कार्यक्रममा २०७९ को परीक्षामा सहभागि भई उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा बीबीएस पहिलो वर्षको परीक्षामा सर्वोउत्कृष्ट अंक ल्याउने अनिशा दाहाल पुरस्कृत भइन् ।

 

यसैगरी, बीबीएस चौथो वर्षका मनिष आचार्य, बीबीएस दोस्रो वर्षकी समिक्षा राई, बीबीएस तेस्रो वर्षका घनश्याम सापकोटा, बीएड दोस्रो वर्षकी कञ्चन खतिवडा, बीएड पहिलो वर्षकी दिपा भट्टराई र बीएड तेस्रो वर्षकी बन्दना अधिकारीलाई नगदसहित प्रमाणपत्र पुरस्कृत गरियो ।

 

सञ्चालक समिति सदस्य लोकनाथ गौतमले स्वागत गरेको कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन क्याम्पस प्रमुख मोहनप्रसाद ओली र आर्थिक प्रतिवेदन लेखा संयोजक कृष्ण पौडेलले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख कृष्ण थापाले गरेका थिए ।