काठमाडौँ । सोहेल तनविर र रिजन ढकालले आफ्नो एकै ओभरमा ३-३ विकेट लिएपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ ।
१६२ रनको लक्ष्य लिएर आएको पोखरा एभेन्जर्स १३.२ ओभरमा केवल ७४ रनमा समेट्दै चितवनले ८७ रनको विजय हात पारेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा तनविरले इनिङ्सको पहिलो ओभरमै ३ विकेट लिएका थिए ।
उनले पहिलो बलमै कुशल भुर्तेललाई आउट गरेका थिए । काठमान्डु गुर्खाजविरुद्धको अघिल्लो खेलमा ५ विकेट लिएका तनविरले मंगलबार पहिलो ओभरमा दीलिप नाथ (४) र बास डे लिग (०) लाई आउट गरेका थिए ।
रिजनले चौथो ओभरमा ओपनर दिनेश खरेल (१) सहित किरण ठगुन्ना (१) र माइकल लिस्कलाई शून्यमा एलबीडब्लु आउट गरेका थिए । त्यसपछि पोखराको ७ रनमा हुँदा ६ र १७ रनमा ७ विकेट गुमाएको थियो । लुक बेन्केनस्टेनले पनि ३ विकेट लिए । उनले रेयमन राइफरलाई १ रनमा मार्कुस क्रिच्लेलाई १७ रनमा आउट गरे । क्रिच्लेले १६ बल खेली २ चौका प्रहार गरे ।
नारायण जोशीले पोखराबाट सर्वाधिक ३० रन बनाए । २४ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । बेन्केनस्टेनले उनलाई आफ्नो तेस्रो सिकार बनाए । विपिन खत्रीलाई ९ रनमा दीपक बोहराले बोल्ड गरे ।
यसअघि पोखराले टस जितेपछि ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १६१ रन बनाएको थियो । भेट्रान इंग्लिस ब्याटर रवि बोपाराले चितवनबाट सर्वाधिक ५१ रन बनाएका थिए । उनले ३८ बल खेली समान ३ चौका र छक्का प्रहार गरे । बोपाराले कप्तान कुशल मल्लसँग चौथो विकेटमा ६८ रनको साझेदारी गरे । कुशलले २३ बल खेली १ चौका र ४ छक्का प्रहार गरी ३८ रन बनाए ।
ओपनर दीपक बोहरा २ र हसन एइसाखिलले १० बलमा १४ रन बनाए । लुक बेन्केनस्टेनले १६, सन्तोष कार्की ११, सोहेल तनविर शून्यमा आउट भए ।
शरद भेषावकर १२ बलमा ११ र इनिङ्सको अन्तिम बलमा छक्का प्रहार गरेका अमरसिंह राउटेला ६ बलमा १३ रन बनाई अविजित रहे । पोखराबाट विपिन खत्री, बास डे लिड र रेयमन राइफरले २-२ तथा सागर ढकालले १ विकेट लिए ।