ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ स्थित साँवामा खुला पुरुष फुटबल तथा अन्तर वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । साँवाको थलङ स्पोर्टिङ क्लबको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।

 

सदरमुकाम फुङ्लिङमा मङ्गलबार क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । किरात लिम्बू समुदायको सांस्कृतिक पर्व चासोक तङ्नाम (न्वागी पर्व) अवसरमा मङ्सिर ३० देखि पुस ५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने क्लबका अध्यक्ष मणिकुमार थलङले जानकारी दिए ।

 

उनका अनुसार खुला पुरुष फुटबलतर्फ विजेताले एक लाख एक हजार १११ नगदसहित ट्रफी पाउनेछ । उपविजेताले ६१ हजारमा चित्त बुझाउने छ । त्यस्तै, अन्तर वडास्तरीय भलिबलतर्फ विजेताले ५० हजार र उपविजेताले ३० हजार पाउने छन् ।

 

खेलकुद क्षेत्रको विकाससँगै खेलकुदका माध्यममार्फत मिक्वाखोला गाउँपालिकामा रहेका फुङ्फुङे झरनासहितका पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने र मौलिक संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका सचिव पूर्ण थलङले बताए ।

 

प्रतियोगिताका लागि मुख्य प्रायोजक मिक्वाखोला गाउँपालिका र प्रायोजकको भूमिकामा मध्य मेवा डेभलपर्स प्रालि रहेको पनि आयोजकले जनाएको छ ।