काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को बुधबारको रोमाञ्चक खेलमा विराटनगर किंग्सले बुटवल लायन्सलाई हराएको छ । एनपीएलमा विराटनगरको यो पहिलो जित हो ।

 

लुम्बिनीलाई २ विकेटले हराउँदा क्रिस सोल नायक सावित भए । लुम्बिनीले प्रस्तुत गरेको १९२ रनको विशाल लक्ष्य विराटनगरले एक बल बाँकी छँदै पूरा गर्यो । अन्तिम ओभरमा ब्याटिङ गर्न आएका क्रिस सोलले ४ बलमा १४ रनको विजयी इनिङ्स खेले ।

 

ब्याटिङमा रहेका कप्तान सन्दिप लामिछाने अन्तिम ओभरको पहिलो बलमा आउट भएपछि सोलले स्थान बनाएका थिए । जितका लागि विराटनगरलाई १३ रन आवश्यक थियो ।

 

बाँकी ५ बलमा सोलले १३ रन लिने चुनौती थियो । पहिलो बलमा रन लिन नसकेका सोलले दोस्रो बलमा छक्का प्रहार गरे भने तेस्रो र चौथो बलमा दुई चौका प्रहार गरेर विराटनगरको पहिलो जित पक्का गरेका हुन् ।

 

सुरुवाती दुई खेल हारेर दबाबमा आएको विराटनगरलाई तेस्रो खेलमा प्राप्त जितले राहत दिएको छ । बिशाल लक्ष्य पछ्याएको विराटनगरका लागि लोकेश बलमे ७१ रनको शानदार ईनिङ्ससहित राम्रो सुरुवात दिलाएका थिए ।

 

मार्टिन गुप्टिलले २८ र बासिर अहमदले ४० रन बनाएर पूर्वेली टिमको जितको आधार खडा गरेका थिए । खेलको अन्तिम समयमा कप्तान सन्दीप लामिछाने एक रनमा आउट भएपछि दबाबमा आएको विराटनगरलाई क्रिस सोलले सम्हालेका हुन् ।

 

आजै भएको पहिलो खेलमा कप्तान करण केसीको बिस्फोटक ब्याटिङको सहयोगमा काठमाडौं गुर्खाजले एनपिएलमा पहिलो जित हासिल गरेको छ ।

 

दोस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा बुधबार काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको हो । १५० रनको प्रतिस्पर्धात्मक लक्ष्य काठमाडौंले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।