शनिश्चरे । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) झापाको आयोजना र अर्जुनधाराको सञ्चालनमा सांस्कृतिक तथा खेलकुद कार्यक्रम हुने भएको छ ।
प्रत्येक वर्ष हुने सांस्कृतिक कार्यक्रम मंसिर २६ र २७ गते हुनेछ भने खेलकुदतर्फ २८, २९ र ३० गते हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्देश्यले सञ्चालन गरिने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको प्याब्सन अर्जुनधाराका अध्यक्ष बालगोपाल गौतमले बताए ।
अर्जुनधारा ६ स्थित ब्रिलियन्ट प्यूपल्स सेकेन्डरी स्कूलको प्राङ्गणमा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गर्ने भएका छन् ।
कार्यक्रम अन्र्तगत जुनियर गायन (१२ वर्षमुनि), सिनियर गायन (१२ वर्षमाथि), आधुनिक नृत्य (कक्षा १ देखि ५), राष्ट्रिय नृत्य (कक्षा ६ देखि ८), सांस्कृतिक नृत्य (कक्षा ९ र १०) र मन्टेश्वरी प्रस्तुति हुने बताइएको छ ।
प्याब्सनमा आबद्ध ३३ विद्यालयका एक हजार ५६ जना विद्यार्थीको सहभागिता रहने सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न अनुमानित १५ लाख रुपैयाँ खर्च लाग्ने प्याब्सनका कोषाध्यक्ष राजन वाग्लेले जानकारी दिए ।
त्यसैगरी सोही उद्घाटन कार्यक्रममा अर्जुनधारा ५ स्थित होली बेसिल इङलिस बोर्डिङ स्कूलका सञ्चालक एवम् वडाध्यक्ष गीताराज खड्कालाई सम्मान गर्ने कार्यक्रम रहेको प्याब्सनका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक प्रविन कार्कीले बताए ।
खेलकुद प्रतियोगितातर्फ क्रिकेट, छात्र र छात्रा भलिबल, यू-१२ र यू-१५ छात्र फुटबल, टेबल टेनिस, बुद्धिचाल र सडक दौड हुनेछ । प्रतियोगितामा ३३ वटा विद्यालयका एक हजार आठ सय जना विद्यार्थी सहभागी हुने उपाध्यक्ष कार्कीले जानकारी दिए ।
नगरपालिकाअन्तर्गत ७, १० र ११ नम्बर वडामा रहेका खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगिता सम्पन्न गर्न अनुमानित १० लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । प्याब्सन झापाका उपाध्यक्ष टिआर गौतमको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रमको सञ्चालन सचिव ताराप्रसाद नेपालले गरेका थिए ।