शनिश्चरे । निजी तथा अवासीय विद्यालय संगठन (प्याब्सन) अर्जुनधाराले शिक्षासेवी गीताराज खड्का (हरि)लाई सम्मान गरेको छ । उनी झापाको अर्जुनधारा ५ स्थित होली बेसिल इङलिस बोर्डिङ स्कूलका संस्थापक एवम् वडाध्यक्ष हुन् ।
प्याब्सन झापाको आयोजना र प्याब्सन अर्जुनधाराको सञ्चालनमा आजदेखि सुरु भएको पालिकास्तरीय सांस्कृतिक कार्यक्रमको उद्घाटन अवसरमा शिक्षासेवी खड्कालाई सम्मान गरिएको हो ।
अर्जुनधारा ६ स्थित ब्रिलियन्ट प्यूपल्स सेकेन्डरी स्कूलको प्राङ्गणमा आयोजित कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, ६ नम्बर वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला, प्याब्सनका पूर्व केन्द्रीय सदस्य मोहन सुब्बालगायतले पत्नी जमुना भण्डारी खड्कासहित उपस्थित भएका खड्का दम्पतीलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरेका थिए ।
२०५२ सालमा विद्यालय स्थापना गरेर निजी क्षेत्रको माध्यमबाट शिक्षाको क्षेत्रमा उनले पु¥याएको योगदानको मूल्याङ्कन गर्दै प्याब्सन अर्जुनधाराले हाल वडाध्यक्षसमेत रहेका खड्कालाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष गौतमले बताए ।
गतवर्ष स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउन सफल अर्जुनधारा ९ निवासी सुब्बा डाक्टरले परिचित लालबहादुर सुब्बालाई सम्मान गर्दै प्याब्सन अर्जुनधाराले यो सम्मान कार्यक्रम शुरु गरेको थियो ।
त्यसैगरी विद्यार्थीहरुमा अन्तरनिहीत प्रतिभा उजागर गर्ने उद्देश्यले प्याब्सन अर्जुनधाराको सञ्चालनमा सुरु भएको पालिकास्तरीय सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथि तामाङले उद्घाटन गरेका थिए ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रम अन्र्तगत जुनियर गायन, सिनियर गायन, आधुनिक नृत्य, राष्ट्रिय नृत्य र सांस्कृतिक नृत्यबीच प्रतिस्पर्धा हुने प्याब्सनका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक प्रविन कार्कीले जानकारी दिए ।
प्याब्सन अर्जुनधाराका अध्यक्ष बालगोपाल गौतमको अध्यक्षता तथा प्याब्सनका सदस्य भास्कर भट्टराईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव ताराप्रसाद नेपालले गरेका थिए ।