झापा । वरिष्ठ सर्जक गणेश रसिकको ७८ वर्षको उमेरमा आज निधन भएको छ। उनी ५ वर्षदेखि प्रोस्टेट क्यान्सरसँग जुधिरहेका थिए।

 

उनको आज बिहान ११ बजे निधन भएको सङ्गीतकार बुलु मकारुङले जानकारी दिए। ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उनको उपचार भइरहेको थियो ।

 

संगीतकार मुकारुङका अनुसार रसिककी छोरी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिनेछ । उनको पार्थिव शरीर अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ।

 

भोजपुरको छिनामाखुमा २००४ असोज ४ मा जन्मेका रसिक पचासको दशकमा इलाम बसाइँ सरेका थिए । करिब पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायन क्षेत्रमा आएका रसिकले कवि, गीतकार, सङ्गीतकार, लेखक, निबन्धकार र नियात्राकारका रूपमा परिचय बनाएका थिए ।

 

उनका छोरा र श्रीमतीको यसअघि नै निधन भइसकेको थियो । हटेर होइन, डटेर लड्ने नेपालीको बानी हुन्छ, तराई हेर कति राम्रो हरियो वन हुनाले, मेरो टाउको सानो छ, यो टाउको विशाल देश छ, रातो भाले क्वाँए क्वाँएजस्ता राष्ट्रिय र लोकगीत गाएका थिए । उनका केही रचना विद्यालयका पाठ्यपुस्तकमा समावेश छ।