धुलाबारी । शारीरिकरुपमा अशक्त देवीमाया मेचे काखको नानीसहित जब टिनको छाना भएको पक्की घरमा पसिन् । उनले दुःख सम्झिन् वा सुख, हर्षले आँशु बगाइन् ?

स्कुल जाने जेठी छोरीसँगै नयाँ घरमा प्रवेश गरेकी देवीमायाका श्रीमान् कान्छी छोरी जन्मेको पाँच दिनमा बितेका थिए । उनै देवीमाया सोमबार आफ्ना लालाबालासहित सहयोगी मन र हातहरुबाट निर्मित नयाँ घरमा प्रवेश गरेकी हुन् ।

मेचीनगर ९ मा स्थानीयले सहयोग जुटाएर ६ लाख २० हजार रुपैयाँमा चार कोठे घर उनलाई सोमबार हस्तान्तरण गरियो । देवीमायाका लागि नयाँ घरमा किचनका सबै सामान, भाँडाकुँडा, कोठामा काठका पल, बिजुली, सोलार, पंखासँगै सिसाको झ्याल बनाइएको छ । सिमेन्टको भुइँसँगै टायल्स विछ्याइएको शौचालय र पानीको धारा पनि देवीमायाको घरमा जडान गरिएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले देवीमायका लागि खरिद गरेको ७ धुर जग्गामा झापाका व्यवसायी विजय डालमियाको संयोजकत्वमा गठित सहयोग समितिले उक्त घर निर्माण गरेर सोमबार हस्तान्तरण गरेको सदस्य समिल राईले बताए । दुई महिनाअघि देवीमायाको स्थिति नाजुक रहेको समाचार सार्वजनिक भएपछि सहयोगी हातहरु अघि बढेका थिए ।

बिहेअघि नै देवीमायाको हात करेन्ट लागेर काटिएको थियो । एउटै हातको भरमा बच्चाको स्यहार सुसारमा जुट्ने देवीमायाको दोस्रो बच्चा भएको पाँच दिनमै श्रीमानको निधन भएपछि उनी बिचल्लीमा परेकी थिइन् ।

समितिका अनुसार दुई महिनाअघि डालमियाको संयोजकत्वमा घर निर्माण सहयोग समिति गठन गरिएको थियो । देवीमायाको घर निर्माणका लागि स्थानीय तथा विदेशमा रहेका दाताले स्वःस्फूर्त सहयोग प्रदान गरेका थिए । घर निर्माणपछि बचत पाँच लाख रुपैयाँ कोष खडा गरेर मेचे परिवारको जीवन निर्वाहमा खर्च गरिने संयोजक डालमियाले बताए ।

गृह प्रवेशका क्रममा जग्गादाता तथा नेता विश्वप्रकाश शर्माले मेचे परिवारका लागि घर नभएर मन्दिर निर्माण गरिएको आफ्नो अनुभूति बताएका थिए । कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले स्थानीय सरकारले गर्न नसकेको उदाहरणीय कार्य स्थानीयबाट भएकोमा प्रशंसा गरेका थिए ।