काठमाण्डौ । देशका धेरै ठाउँमा पानी परेको छ । मनसुनी गतिविधि सक्रिय नै रहेकाले गएको २४ घण्टामा सातै प्रदेशमा हल्कादेखि मध्यम खालको पानी परेको छ ।

अहिले भने वाग्मती प्रदेश र प्रदेश नम्बर १ मा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो वाग्मती, गण्डकी प्रदेशसहित प्रदेश १ का धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने उहाँले बताउनुभयो । राति भने प्रदेश १ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

मौसमविद्ले अबको केही दिन देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने बताएका छन् ।

सोमबार पनि देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

मंगलबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।