काठमाडौं । नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदलीसहित बागमती प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का एक, दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
त्यस्तै, प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वर्षाका कारण उक्त स्थानहरुका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने छ । साथै महाशाखाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।
काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १९ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २६ देखि २८ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर ५१ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ६ मिनेटमा हुनेछ ।