काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनको अवधि सकिए पनि मनसुन बाहिरिन भने अझै समय लाग्ने जानकारी दिएको छ ।
विभागले यस वर्षको मनसुनको समयावधि अक्टोबर २ सम्म तोकेको भएपनि मनसुनको प्रभाव अझै कायम रहने जनाएको हो । विभागले यसै वर्षदेखि मनसुन बाहिरिने मिति अद्यावधिक हुँदै सेप्टेम्बर २३ बाट बढेर अक्टोबर २ सम्म तय गरेको हो । यो अवधिको मिति अबको ३० वर्षसम्म कायम रहनेछ ।
मनसुन सुरु हुने मिति पनि एक दिन पछाडि सरेर जुन १० बाट ११ जुन तय गरिएको छ । अझै पनि नेपालमा मनसुनको पूर्वीय वायु नै सक्रिय छ । जसका कारण देशका धेरै भूभागमा बदलीसहित वर्षा भइरहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागले मनसुन बाहिरिनका लागि पश्चिमी वायु सक्रिय हुनुपर्ने, न्यूनचापीय रेखा बन्न र जल वाष्पको आवतजावतमा कमी आउनुपर्छ । तर, अहिलेसम्म त्यसो हुन नसकेको र पश्चिमी वायुको गतिले पूर्वीय वायु विस्थापित गरेर आकाशमा पश्चिमी वायुको प्रभाव बढेपछि मात्र मनसुन नेपाल बाहिरिने मौसमी प्रवृत्ति रहँदै आएको छ ।
त्यसो नभएकै कारण यस वर्ष मनसुनी अवधि थप लम्बिने सम्भावना बढेको हो ।
यसैबीच, विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशमा सामान्य बदली रही बाकी भूँभागमा आंशिक बदली रहेको छ। प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरूमा र बाँकी प्रदेशका एक, दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ भने प्रदेश १, प्रदेश २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
सोमबार भने देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक, दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना छ।
मंगलबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले पनि प्रदेश १ को केही क्षेत्रमा सामान्य वर्षा भइरहेको छ । बिहानको रातिदेखि भएको वर्षा अहिलेसम्म रोकिएको छैन ।