काठमाडौँ । मुलुकका अधिकांश क्षेत्रमा पछिल्लो केही हप्तादेखि अधिकतम तापक्रम औसतभन्दा कम देखिएको छ ।

 

 

जल तथा मौसम विज्ञान विभागको अभिलेखअनुसार जाडो सुरु हुँदैगर्दा तापक्रम घट्नु स्वभाविक भए पनि पछिल्लो केही हप्ता ३० वर्षको औसत तापक्रमभन्दा कम हुँदा सर्वसाधारणले बढी चिसो महसुस गरेका छन् । एक्कासी चिसो बढ्दा बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यमा असर पुग्नसक्ने हुँदा सावधानी अपनाउन भनिएको छ ।

 

अक्टोबर तेस्रो हप्तापछि गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाबाहेक अन्य प्रदेशमा अधिकतम तापक्रम सरदरभन्दा कम देखिएको विभागका वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले बताइन् । यो बीचको समयमा कुनै दिन काठमाडौँमा दुई डिग्रीसम्मै तापक्रम घटेको छ ।

 

नोभेम्बर लागेपछि काठमाडौँमा न्यूनतम तापक्रम पनि घटेको उनले बताए । विराटनगर, धनकुटा, धरान ओखलढुङ्गा, जिरीमा न्यूनतम तापक्रम पनि घटेको छ । अधिकतम तापक्रम दिनमा र न्यूनतम तापक्रम रातमा मापन हुन्छ ।

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले अब पुनः जाडो तथा सुक्खा याममा हुने विपद्जन्य घटना बढ्ने सम्भावना बढ्दै जाने बताए।

 

तापक्रम घट्दै जाँदा मानिसले आगो बालेर ताप्ने, घरमा आगो बालेर छाड्ने लगायत क्रियाकलाप हुने र त्यसबाट आगलागीको सम्भावना बढ्न सक्नेतर्फ सचेत हुनुपर्ने जनाइएको छ ।