काठमाडौँ । बंगालको खाडीको मध्य पश्चिम भूभागमा शुक्रबार जवाद नामको सामुन्द्रिक चक्रवात बनेको छ। सो चक्रवात आज बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र त्यसपछि उत्तर पूर्वतर्फ सर्ने देखिएको छ। सो चक्रवातका कारण नेपालमा खासै ठुलो प्रभाव पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यद्यपि यसको अप्रत्यक्ष प्रभावले आज रातिबाट प्रदेश नं १ , प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ भने सो प्रदेशका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
आउँदो सोमबार बाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने देखिन्छ । आइतबारबाट पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना देखिएको छ।
सो पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र सो प्रदेशहरूको उच्च पहाडी तथा हिमाली भूभागहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
सोमबार सो प्रणाली ले देशभर प्रभाव पारी केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
आइतबार राति र सोमबार दिउँसो सो प्रणालीका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरूका एक वा दुई स्थानहरूमा भारी हिमपातको समेत सम्भावना रहेको छ। सो प्रणाली सोमवार राती बाट कमजोर बन्दै जाने सम्भावना रहेको छ।
यी मौसमी प्रणालीहरूका कारण पर्वतारोहण, हवाई, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ ।