विराटनगर । यहाँ जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

 

मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा मच्छिन्द्र एफसी काठमाण्डौले कोलकाताको साउर्थन समिति एफसीलाई २-१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

जितको लागि मच्छिन्द्रका विदेशी खेलाडी स्टेफन विनोङले दुवै गोल गर्दै नायक भए । खेलको प्लेयर अफ द म्याच पनि स्टेफन घोषित भए । उनले नगद ११ हजार पाए । कोलकाताको तर्फबाट सान्तवना गोल सोनु हल्दारले फर्काए ।

 

सेमिफाइनल प्रवेश गरेको मच्छिन्द्रले अब फाइनल प्रवेशका लागि बिहीबार सिक्किम ड्रागन भारतसँग सामना गर्दैछ । यसअघि घरेलु टिम सांग्रीला मोरङ एफए र विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) सेमिफाइनलमा पुगिसकेका छन् ।

 

एपीएफले इटहरी गोल्डकप च्याम्पियन चर्च ब्वाईज युनाइटेड काठमाण्डौलाई २-० गोलले हराउँदै सेमिफाइनलमा पुगेको थियो । घरेलु टिम सांग्रीलाले भुटानको आरटिसिएफसी ३-२ गोलले हराउँदै सेमिफाइनलको स्थान पक्का गरेको थियो ।

 

प्रतियोगिता अन्तर्गत् पहिलो सेमिफाइनल खेलमा बिहीबार सांग्रीला र विभागीय टिम एपीएफ एफसीबीच प्रतिस्पर्धा हुनेछ ।