विराटनगर । सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रिला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

 

विराटनगरस्थित सहिद रंगशालामा बुधबार राति भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफ एफसीलाई सडनडेथमा ४-३ गोलले पन्छाउँदै सांग्रिला फाइनलमा पुगेको हो ।

 

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो सडेनडेथबाट भएको हो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइबे्रकरमा दुवै टोलीले ३–३ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा पुग्यो ।

 

सडनडेथमा आशिष चापागाई, अविशेक लिम्बु, उमेश कार्की र किरन राईले गोल गरे । सांग्रिलाका विदेशी खेलाडी एनकेट र सागर तिरुवाको प्रहार एपीएफका गोलकिपर एन्जल श्रेष्ठले बचाए ।

 

एपीएफको तर्फबाट दिपेश धिमाल, कुलदिप कार्कीको प्रहार सांग्रिलाका गोलकिपर विशाल सुनारले बचाए पनि अनिष महर्जन, सुमन श्रेष्ठ र विश्वास उदासको प्रहार भन रोक्न सकेनन् । सांग्रिलाका गोलकिपर विशाल सुनार खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ११ हजार रुपैया पुरस्कार पाए ।

 

सांग्रिलाले उपाधिको लागि बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र र पाहुना टोली सिक्किम ड्रागन भारतबीच हुने विजेता टिमसँग खेल्नेछ ।