झापा । नेपालकै प्रतिष्ठित फुटबल एकाडेमी पोखराको सहारा फुटबल एकाडेमीमा झापा अर्जुनधारा नगरपालिकाका २ जना विद्यार्थी छनौट भएका छन् ।

 

अर्जुनधारा ५ का मिसन हास्दा र अर्जुनधारा ११ का मिलन मुर्मू एकाडेमीमा छनौट भएका हुन् । आज उनीहरु पोखरा प्रस्थान गर्नुअघ बिर्तामोडमा खेलप्रेमीहरुले विदाई गरेका थिए । मुर्मू अर्जुनधारा ११ स्थित महारानीगञ्ज माविको ६ कक्षा र हास्दा अर्जुनधारा ५ को मोहनमाया माविको कक्षा ५ मा अध्ययनरत थिए ।

 

विदाईका क्रममा झापा गोल्डकप आयोजक समितिले यातायात खर्चवापत नगद १० हजार प्रदान गरेको झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले जानकारी दिए ।

 

दुवै जना १३ वर्षका हुन् । मुर्मूका आमाबुबा र हास्दाका बुबा छैनन् । लोपोन्मूख जाति सन्थालको सूचीमा रहेका उनीहरु विपन्न परिवारका सदस्य हुन् । मुर्मू धर्म बुबा रञ्जन बस्नेतको घरमा बस्दै आएको उनका शिक्षक तथा फुटबल रेफ्री प्रदिप बस्नेतले जानकारी दिए ।

 

संघका अध्यक्ष आलेका अनुसार विदाईका क्रममा एकता स्पोर्टिङ क्लबले ट्र्याक सुट, बिर्तामोड २ र अर्जुनधारा ५ वडा कार्यालयले फुटबल बुट, संघका कोषाध्यक्ष भुपेन लिम्बू र सदस्य टेकराज तिलिङ ले २-२ जोर बुट, उपाध्यक्ष मनेष दाहाल र सदस्य अमिर श्रेष्ठले ब्याग तथा बिर्तामोडको जोया स्पोर्टसले खेल सामग्री उपलब्ध गराएका थिए ।

 

सहारा फुटबल एकाडेमीका लागि प्रस्थान गरेका दुवै विद्यार्थीको स्वास्थ्य परीक्षणमा सफलता मिलेपछि खान, बस्न, अध्ययन र फुटबल खेल्नका लागि वातावरण तयार हुने बताइएको छ ।