अर्जुनधारा । झापा जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । उद्घाटन खेलमा बिर्तामोडको न्यू स्टार क्लब र दमकको गोर्खा स्पोर्टिङ क्लबले अंक बाँडेका छन् ।

 

अर्जुनधाराको खरबन्दी खेलमैदानमा सुरु प्रतियोगितामा दुवै टोलीले १-१ गोलको बराबरी खेलेर अंक बाँडेका हुन् । दुवै टोलीले समान १-१ अंक जोड्न सफल भए ।

 

खेलको १८औँ मिनेटमा न्यू स्टारका करण लिम्बूले गोल गर्दै अग्रता दिलाएका थिए । तर, अन्तिम २ मिनेट सम्हालिन नसक्दा न्यू स्टारले अंक बाँड्न बाध्य भएको हो ।

 

खेल सकिन २ मिनेट बाँकी रहँदा गोर्खा स्पोर्टिङका अमितसन सतारले गोल गर्दै न्यू स्टारको महत्वपूर्ण अंक खोस्न सफल भए । उनी खेलको म्यान अफ दी म्याच बने । खेलमा बराबरी गोल गर्दै अंक दिलाउन सफल सतारलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले नगद पुरस्कार प्रदान गरे ।

 

ए डिभिजन लिगमा झापाका ८ वटा टोली सहभागी छन् । लिगको फाइनल खेल जेठ ३ गते हुनेछ । अंकका आधारमा २ टोली रेलिगेसनमा पर्दै बी डिभिजनमा झर्नेछन् ।

 

प्रतियोगिता सम्पन्न गर्न ७ लाख रुपैयाँ खर्च हुने संघका अध्यक्ष मामाले जानकारी दिए । उनका अनुसार लिग च्याम्पियन टोलीले नगद ५० हजार र उपविजेता टोलीले नगद ३० हजार पाउने छन् ।

 

बिहीबार दुई खेल सञ्चालन हुनेछ । पहिलो खेल काँकरभिट्टा फृटबल ट्रेनिङ सेन्टर र मनास्लु युथ क्लब अर्जुनधारा र दोस्रो खेल दमक भाङबारी एफसीले धाइजन चारआली एफसीसँग खेल्नेछ ।