शनिश्चरे । हिजोदेखि सुरु झापा जिल्ला ए डिभिजन लिग फुटबलमा बिहीबार मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले जित निकाल्दै ३ अंक बटुल्न सफल भएको छ ।

 

पहिलो खेलमा अर्जुनधाराको मनास्लु युथ क्लबलाई २-१ गोलले पराजित गर्दै काँकरभिट्टाले जित निकालेर ३ अंक जोड्न सफल भएको हो । काँकरभिट्टाका लागि आयुश गुरुङले १३औँ मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए ।

 

खेलको ६१औँ मिनेटमा हिरन राजवंशीले गोल गर्दै काँकरभिट्टाको अग्रता दोब्बर बनाएका थिए । यसैबीच, खेलको ७२औँ मिनेटमा मनास्लुका मनोज सेलिङले गोल फर्काए पनि बराबरी गर्न नसक्दा अंक सुम्पन बाध्य बनेको हो ।

 

दोस्रो खेलमा धाइजन चारआली एफसीले दमक भाङबारी स्पोर्टिङ युथ क्लबसँग ३-३ गोलको बराबरी खेलेर अंका बाँडेका छन् । उनीहरुले समान १-१ अंक बाँडे ।

 

खेलको ३ मिनेटमै धाइजनका लागि सुजन लिम्बूले गोल गरेका थिए तर १२औँ मिनेटमा गौरव धिमालले गोल गरेर बराबरी गरे । यस्तै, १८औँ मिनेटमा साहिल धिमालले गोल गरेर धाइजनको अग्रता दोब्बर बनाए ।

 

तर, २५औँ मिनेटमा प्रितम कार्कीले गोल गर्दै दमकलाई खेलमा फर्काए । यसैबीच, धाइजनका मनोज राईले ४०औँ मिनेटमा गोल गरेर अग्रता दिलाए पनि दमकका ओमप्रकाश तामाङले खेलको ६९औँ मिनेटमा बराबरी गोल गर्दा दुवै टिमले अंक बाँडेका हुन् ।

 

पहिलो खेलको म्यान अफ दी म्याच काँकरभिट्टाका तारानाथ राजवंशी भए भने दोस्रो खेलमा धाइजनका निशान्त तामाङ घोषित भए । उनीहरुले नगद पुरस्कार पाए ।

 

ए डिभिजन लिगमा झापाका ८ वटा टोली सहभागी छन् । लिगको फाइनल खेल जेठ ३ गते हुनेछ । अंकका आधारमा २ टोली रेलिगेसनमा पर्दै बी डिभिजनमा झर्नेछन् ।

 

प्रतियोगिता सम्पन्न गर्न ७ लाख रुपैयाँ खर्च हुने संघका अध्यक्ष भगिरथ आले ‘मामा’ले जानकारी दिए । उनका अनुसार लिग च्याम्पियन टोलीले नगद ५० हजार र उपविजेता टोलीले नगद ३० हजार पाउने छन् ।