शनिश्चरे । यहाँ जारी झापा जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगितामा साविक विजेता शनिश्चरे एफसीले पहिलो खेलमै जित निकालेको छ ।
अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा शुक्रबार भएको पहिलो चरणको अन्तिम खेलमा सैनिक एफसीलाई ३-२ गोलअन्तरले पराजित गर्दै ३ अंक जोडेको छ ।
पहिलो हाफको अग्रता जोगाउन नसक्दा सैनिकले शनिश्चरेसँग महत्वपूर्ण अंक गुमाउन बाध्य बन्यो । सैनिकले पहिलो हाफमा १-० गोलको अग्रता बनाएको थियो । खेलको ७ मिनेटमै पाल्देन गुरुङको गोलबाट सैनिकले अग्रता बनाएको हो ।
दोस्रो हाफमा शनिश्चरेले बराबरी गोल गरेर फर्कियो । खेलको ४५औँ मिनेटमा समिर हेमरम सतारले बराबरी गोल गरेका हुन् । तर, सैनिकका सुजन लिम्बूले ५४औँ मिनेटमा गोल गरेर पुनः २-१ गोलको अग्रता दिलाए ।
सैनिकको खुसी धेरैबेर टिक्न भने सकेन । फेरि शनिश्चरेका समिरले नै ५७औँ मिनेटमा गोल गरेर बराबरीमा ल्याए । उनी शनिश्चरेका परिवर्तित खेलाडी हुन् । लगत्तै समिरमाथि भएको फाउलमा शनिश्चरेले पेनाल्टी पायो । जसमा राजेश दाहालले गोल गरेर जित सुनिश्चित बनाए ।
खेलको म्यान अफ दी म्याच २ गोल गरेका शनिश्चरे एफसीका समिर हेमरम बने । उनले नगद पुरस्कार पाए । पहिलो चरण सकिएसँगै शनिश्चरे र काँकरभिट्टाको समान ३-३ अंक भएको छ ।
यस्तै, धाइजन चारआली एफसी, दमक भाङबारी स्पोर्टिङ युथ क्लब, न्यू स्टार क्लब र दमकको गोर्खा स्पोर्टिङ क्लबको समान १-१ अंक रहेको छ । मनास्लु युथ क्लब र सैनिक अंकविहीन छन् ।
भोलि (शनिबार)देखि दोस्रो चरणको खेलहरु हुनेछन् । भोलि नै २ वटा खेल रहेको छ । झापा जिल्लास्तरीय ए डिभिजन लिगमा झापाका ८ वटा टोली सहभागी छन् । लिगको फाइनल खेल जेठ ३ गते हुनेछ ।
अंकका आधारमा २ टोली रेलिगेसनमा पर्दै बी डिभिजनमा झर्नेछन् । झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’का अनुसार लिग च्याम्पियन टोलीले नगद ५० हजार र उपविजेता टोलीले नगद ३० हजार पाउने छन् ।