संक्रान्ति बजार (तेह्रथुम) । स्थानीय त्रिमोहन माविको खेल मैदानमा जारी ऐतिहासिक मदन मेला २०८१ को अवसरमा आयोजित पुरुषतर्फको फुटबल प्रतियोगितामा फोम्बो अवाजुङ कल्याणकारी समाज खाम्लालुङ र छथर जोरपाटी धनकुटा फाइनलमा पुगेका छन् ।
आज भएको पहिलो सेमिफाइनल खेलमा फोम्बो समाजले युनाइटेड एफसी हाङपाङ ताप्लेजुङमाथि ४-० गोलको शानदार जित निकाल्दै उपाधि नजिक पुगेको हो । फोम्बो समाजका लागि अनुप सेन्दाङ, सन्तु लिम्बू, सुशिल लिम्बू र मन्जित लिम्बूले ११ गोल गरेर टिमलाई उपाधि नजिक पुर्याएका हुन् ।
दोस्रो सेमिफाइनल खेलमा गिरी समाज खाम्लालुङमाथि छथर जोरपाटी धनकुटाले टाइब्रेकरमा बाजी मारेको हो । निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।
सुरुवाती अग्रता छथर जोरपाटीले लिएको थियो । उसका लागि तपन काफ्लेले गोल गरेका हुन् । तर, गिरी समाजका लागि विशाल भण्डारीले बराबरी गोल फर्काएका थिए ।
महिला र पुरुषतर्फका दुवै फाइनल खेल भोलि आइतबार हुनेछ । २०१५ सालदेखि लाग्दै आएको मदन मेलामा पुरुषतर्फ २७ टोली र महिलातर्फ ६ टोली सहभागी रहेका छन् । पुरुषतर्फको विजेताले नगद २ लाख र महिलातर्फको विजेताले ८० हजारसहित रनिङ ट्रफी प्राप्त गर्नेछ ।