झापा (एजेन्सी) । लगातार दोस्रो खेलमा पनि मध्यम स्कोर पछ्याउन नसकेपछि नेपालले ट्वान्टी-२० विश्वकप क्रिकेटमा जितविहीन यात्राका रूपमा टुंगाएको छ । बंगलादेशले सोमबार बिहान नेपाललाई २१ रनले पराजित गर्यो । १ सय ७ रनको लक्ष्य लिएर आएको नेपाल १९.२ ओभरमा ८५ रनमा अलआउट भयो ।
टस हारेर ब्याटिङमा निम्त्याएको बंगलादेशलाई १९.३ ओभरमा १ सय ६ रनमा अलआउट गरेको थियो । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले छैटौं विकेटमा ५२ रनको साझेदारी गरे पनि नेपालले अन्तिम ४ विकेट केवल १ रनमा गुमाएको थियो । यस जितसँगैं बंगलादेशले सुपर ‘एट’ मा स्थान पक्का गरेको हो ।
सेन्ट भिन्सेन्टस्थित आर्नोस भेल मैदानको स्पिनमैत्री विकेटमा बंगलादेशका सिमरहरू चम्किएका थिए । तान्जिम हसन शकिब र मुस्ताफिजुर रहमानले सानदार बलिङ गरेपछि बंगलादेशले लो स्कोरिङ खेलमा विजय हात पारेको हो । तान्जिमले ४ ओभरमा २ मेडन राख्दै ७ रन खर्चेर ४ र मुस्ताफिजुरले ४ ओभरमा १ मेडन राख्दै ७ रन खर्चेर १ विकेट लिए । अर्का तीव्र बलर तास्किन अहमदले गुलशन झालाई शून्यमा आउट गरेका थिए ।
कुशलले खेलकै सर्वाधिक २७ रन बनाए । उनले आफूले सामना गरेको ३५ औं बलमा पहिलो चौका प्रहार गरेका थिए । ४० बल खेलेका उनले समान एक चौका र छक्का प्रहार गरे । दीपेन्द्रले ३१ बल खेली २ चौका र १ छक्का प्रहार गरी २५ रन बनाए ।
नेपालले पावर प्लेको ३६ बलमा २४ डट बल खेलेको थियो, त्यसमा तान्जिम हसन शकिबले लगातार दुई मेडन ओभर फालेका थिए । कुशल भुर्तेललाई ४ रनमा बोल्ड गरेका तान्जिमले अनिल शाहलाई शून्य र कप्तान रोहित पौडेललाई १ रनमा आउट गरी नेपाललाई पावर प्लेमा २६–५ को स्थितिमा पुर्याइदिए ।
आसिफ शेखले १४ बलमा ४ चौका प्रहार गरी १७ रन बनाए । उनी मुस्ताफिजुरको बलमा आउट भए । पावर प्लेपछिको अर्को ओभरमा तान्जिमले सन्दीप जोरालाई आउट गरे । ८ बल खेलेको जोराले १ रनमात्र बनाउन सके ।
नेपाल यसअघि नेदरल्यान्ड्सँग ६ विकेटले र दक्षिण् अफ्रिकासँग १ रनले पराजित भएको थियो । श्रीलंकासँगको खेल वर्षाले रद्द भएको थियो । नेपालले दुई दिन अघि यहि मैदानमा दक्षिण अफ्रिकालाई १ सय १५ रनमा रोके पनि १ रनको हार बेहोरेको थियो ।