ताप्लेजुङ । ताप्लेजुङ गोल्डकप २०८१ आगामी भदौ ३ गतेदेखि आयोजना हुने भएको छ । लाखेजात्राको अवसरमा खेलाइने दोस्रो संस्करणको ताप्लेजुङ गोल्डकप भदौ ३ देखि १० गतेसम्म आयोजना हुने भएको हो ।

 

लाखेजात्रा सञ्चालन समितिको आयोजनामा हुने ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता सदरमुकाम फुङ्लिङमा सञ्चालन हुनेछ । शुक्रबार बसेको समितिको बैठकले गोल्डकप आयोजना गर्ने निर्णय गर्दै प्रतियोगितालाई यसवर्ष विगतमा भन्दा थप व्यवस्थित बनाउने गरी तयारीमा लाग्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए ।

 

अध्यक्ष गुरुङका अनुसार यस पटकदेखि गोल्डकप प्रतियोगिताको पुरस्कार राशि पनि बढाउने विषयमा छलफल भएको छ । प्रतियोगितालाई विशिष्ट बनाउन नेपालका नाम चलेका ‘ए’ डिभिजन क्लबहरूलाई आमन्त्रण गर्ने निर्णय गरिएको पनि उनले जानकारी दिए ।

 

यसअघि ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताका विजेताले तीन लाख ११ हजार १११ र उपविजेताले एक लाख ११ हजार १११ नगद पुरस्कार पाउँदै आएका थिए । यस वर्षदेखि पुरस्कार राशि कति बृद्धि गर्ने भन्ने विषयमा समितिको अर्को बैठक बसेर निर्णय गरिने अध्यक्ष गुरुङको भनाइ छ ।