बिर्तामोड । झापा बिर्तामोडका युवा व्यवसायी तथा झापा गोल्डकपका पूर्व अध्यक्ष विनोद बस्नेत मृत भेटिएका छन् । आफ्नै घरमा उनले झुन्डिएर आत्महत्या गरेका हुन् ।

 

बिर्तामोड १ स्थित आफ्नै घरमा उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थल सिल गरेको छ । मृतक बस्नेत अनेकौं सामाजिक तथा व्यवसायिक संघसंस्थामा कार्यरत थिए ।

 

५२ वर्षीय बस्नेतलाई आज बिहान १०ः३० बजे आफ्नै घरको आफू सुत्ने कोठाको सिलिङ फेनमा सलको पासो लागेर झुन्डिएको अवस्थामा आफन्तले देखेपछि पासो काटेर भुइँमा झारेका थिए । १०ः४० बजे भुइँमा झारेर हेर्दा बस्नेतको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

 

कृष्णबहादुर बस्नेतका जेठा छोरा उनी झापा गोल्डकपका पूर्वअध्यक्ष, जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का कार्यसमिति सदस्य र मेची पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिव रहेका थिए ।

 

यस्तै, अन्य सामाजिक संघसंस्थामा आवद्ध समाजसेवी बस्नेतको निजी यामाहा मोटरसाइकल विक्रेता सयपत्री ट्रेड लिंकलगायत विभिन्न प्रतिष्ठानका सञ्चालक समेत हुन् ।

 

बस्नेतकी श्रीमती र एक छोरी रहेका छन् । श्रीमती कोपिला बस्नेत अधिवक्ता हुन् भने एकमात्र छोरी विभूति एमबीबीएस अध्ययनरत रहेको जनाइएको छ ।