झापा । इलामको रोङ गाँउपालिका २ बरफ्ल्याङस्थित विष्णु अमर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमका बीच स्वीटर वितरण गरिएको छ ।
विभिन्न सामाजिक गतिविधिमा सक्रिय झापा अर्जुनधारा नगरपालिका ७ स्थित रुपरत्न मेमोरियल बोर्डिङ स्कूलले उक्त विद्यालयको कक्षा ६, ७ र ८ मा अध्धयनरत् २२ जना विद्यार्थीलाई स्वीटर वितरण गरेको हो ।
विद्यालयका प्रधानाध्यापक कमलप्रसाद ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा स्कूलकी प्रधानाध्यापक नम्रता गिरीले प्रधानाध्यापक ढकाललाई स्वीटरको थान हस्तान्तरण गरेकी थिइन् ।
आफ्नो विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत यस किसिमको कार्यक्रम विगतदेखि नै सञ्चालन गर्दै आएकाले आगामी दिनमा पनि शिक्षासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा विद्यालयको तर्फबाट सहयोग प्रदान गर्ने प्रधानाध्यापक गिरीले प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
कार्यक्रममा स्कूलकी प्रधानाध्यापक गिरीसँगै, विद्यालयमा सञ्चालनरत “शुभ बुधबार कार्यक्रम २०८२”का संयोजक एवम् पत्रकार अमित खम्बू र अभिभावक कुमार प्रसाईं लगायतको सहभागिता रहेको थियो ।
सोही कार्यक्रममा प्रधानाध्यापक गिरीले साना विद्यार्थीहरुलाई खाजाअन्तर्गत बिस्कुट पनि वितरण गरेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन शिक्षक सोमनाथ अधिकारीले गरेका थिए ।