झापा । झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडमा छुरा प्रहारबाट बाबुछोरासहित तीनजना घाइते भएका छन् । के कारण छुरा प्रहार गरियो भन्ने खुल्न सकेको छैन ।

 

बुधबार राति १० बजेतिर बिर्तामोड ३ सैनिकमोड बस्ने ३८ वर्षीय सुवास नेपालीले धारिलो हतियार छुरा प्रहार गरी तीन जनालाई घाइते बनाएका हुन् । छुरा प्रहारबाट सोही ठाउँ बस्ने ४५ वर्षीय प्रेम दर्नालको बायाँ कानमा चोट लागेको छ ।

 

यसैगरी, उनका २० वर्षीय छोरा निखिल दर्नालको टाउकोमा चोट लागेको छ । त्यस्तै, सोही ठाउँ बस्ने २५ वर्षीया लुकी बनिया -सन्थाल) को बायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

 

तीनैजना घाइतेलाई उपचारको लागि बिर्तामोड नगर अस्पताल बिर्ताबजार पठाइएको छ । उनीहरुको अवस्था सामान्य रहेको बुझिएको छ । धारिलो हतियार प्रहार गर्ने नेपाली तत्काल फरार रहेको र खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।