ताप्लेजुङ । गतवर्ष निकै चर्चा पाएको अलैँची कप फुटबल प्रतियोगिता यसवर्ष मंसिर २ गतेदेखि हुने भएको छ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने फुङ्फुङ्देन झरना पर्यटन तथा सांस्कृतिक मेलाअन्तर्गत फुटबल प्रतियोगिता हुने गर्छ ।
फुङ्फुङ्देन झरना पर्यटन विकास समितिको आयोजनामा मंसिर २ देखि ६ गतेसम्म सञ्चालन हुने मेलाको फुटबल प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक गरिएको छ । जसमा आठ टोलीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
समितिका अध्यक्ष विजय साँवा, सल्लाहकार नुपुछिरिङ शेर्पा तथा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त कार्कीको उपस्थितमा खेल तालिका सार्वजनिक गरिएको हो । तालिकाअनुसार आयोजकसँगै अप्पर मेवा केटिएम, फेदाप गाउँपालिका तेह्रथुम, सैनिक युवा क्लब झापा, कुम्मायक गाउँपालिका पाँचथर, खोक्लिङ सामाजिक युवा क्लब मिक्वाखोला, ग्रीन भ्याली युवा क्लब मेरिङदेन ६ नाल्बु र मारिक एफसी धरानको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले तीन लाख दुई हजार ८३ रुपैयाँबराबरको अलैँची प्राप्त गर्नेछन् । उपविजेता टोलीलाई एक लाख ५२ हजार ८३ रुपैयाँबराबरको अलैँचीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
समितिका अध्यक्ष साँवाका अनुसार स्थानीय उत्पादनको प्रवर्धन, बजारीकरण र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले नगदको सट्टा अलैँची पुरस्कार दिने व्यवस्था गरिएको हो । गतवर्ष पाँचथरको गणेश चोकले उपाधि हासिल गरेको थियो ।