– प्रविधिले ठूलो फड्को मारेपनि रेडियोलाई विश्वभर अहिलेपनि गतिशिल सञ्चारमाध्यमको रुपमा लिने गरिन्छ । रेडियो स्थापनाको झण्डै ७ दशक पुग्नै लाग्दा समेत नेपालमा लोकप्रियता र आवश्यकता घटेको छैन ।

नेपालका अधिकांश क्षेत्रमा अहिले पनि रेडियो सुनेरै सूचना तथा मनोरञ्जन प्राप्त गर्नेको संख्या अन्य सञ्चारमाध्यमको भन्दा उल्लेख्य बढी रहेको तथ्याङ्क छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हाल ७ सय ४० रेडियोले सञ्चालन अनुमती लिएका छन् भने ४ सय ५० को हाराहारीमा नियमित प्रसारणमा छन् ।

यसैबीच सम्वाद, सहिष्णुता र शान्ति भन्ने नाराका साथ आठौँ विश्व रेडियो दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोमा भएको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ मा प्रत्येक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ, ब्रोडकाष्टिङ्ग एशोसीयसन अफ नेपाल बानलगायतका संघसंस्थाले प्रभातफेरी लगायत विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

नेपालमा २००७ साल मंसिर २८ गते भोजपुरमा रेडियो स्थापना भएको उल्लेख छ तर औपचारिक प्रशारणको सुरुवात भने सोही बर्षको चैत्र २० गते काठमाडौंबाट भएको पाइन्छ । २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएपछि प्रजातन्त्र रेडियोका नाममा बिराटनगरबाट प्रसारण भइरहेको रेडियो काठमाडौं ल्याइएको इतिहास छ । नेपालमा २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको थियो । रेडियो नेपालको एक सय मेघाहर्जबाट सुरु भएको एफएम प्रशारण अहिले मुलृुकभर ८८ देखि १ सय ८ मेगाहर्ज भित्रका बिभिन्न फ्रिक्वेन्सीमा सुन्न सकिन्छ । रेडियो कान्तिपुर निजी स्तरबाट खुलेको मुलुककै पहिलो व्यवसायिक रेडियो हो ।

कान्तिपुरबाट