अर्जुनधारा, झापा । झापाको अर्जुनधारा–३स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहअन्र्तगत खण्ड–५को कैदलेमा भुटानी शरणार्थी स्मृती पार्क निर्माण हुने भएको छ ।

पर्यापर्यटन कार्यविधि २०७५लाई कार्यान्वयन गर्दै वनमैत्री वातावरणको कैदले पर्यापर्यटन प्रबद्र्धन कार्यक्रम अन्र्तगत सात कठ्ठामा निर्माण हुने उक्त पार्क शरणार्थीहरुको स्मृतीमा निर्माण गर्न लागिएको समूहका अध्यक्ष एवम् कैदले पर्यापर्यटन प्रबद्र्धन समितिका संयोजक दिव्यप्रसाद कट्टेलले जानकारी दिए ।

यसै सातादेखि शुरु हुने पार्क निर्माणको कार्य चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य समितिले राखेको छ । निर्माण हुने पार्कका डिजाइनर इन्द्र तामाङका अनुसार पार्कभित्र १८ फुटको भुटनिज मोनोग्रामको स्तम्भ, शरणार्थी संग्राहलय, चौतारा, बगैंचा, शौचालय, पानी ट्याङकीलगायत रहने बताइएको छ ।

सांसद् विकास कोष, अर्जुनधारा नगरपालिका र समूहको संयुक्त लगानीमा निर्माण सम्पन्न हुने उक्त पार्क निर्माणको लागि प्रारम्भिक लगानीकोरुपमा अनुमानित ५० लाख रुपैयाँमा लाग्ने समूहका उपाध्यक्ष नारायणप्रसाद पौड्यालले जानकारी दिए ।
२०४८ सालदेखि बसोबास गरेका शरणार्थीहरु तेस्रो देश पुर्नवाससँगै त्यस क्षेत्रबाट आर्थिक वर्ष ०६७÷०६८मा स्थानान्तरण भएका थिए । निर्माण हुने उक्त पार्कको संघीय सांसद् पवित्रा निरौला खरेलले गत माघ १२ गते एक समारोहकोबिच शिलान्यास गरेकी थिइन् ।

यसैबिच समूहले निर्माण हुन लागेको पार्कको विषयमा अन्तरक्रिया कार्यक्रममा सम्पन्न गरेको छ । समूहका अध्यक्ष दिव्यप्रसाद कट्टेलको अध्यक्षतामा आयोजित कार्यक्रममा समूहका उपभोक्ताहरु, टोल संयोजकहरु, पूर्व कार्यसमितिका पदाधिकारीहरु, जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

सोही कार्यक्रमको सन्दर्भमा वैज्ञानिक वन व्यवस्थापनको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरुलाई दमक सब डिभिजन कार्यालयका सहायक वन अधिकृत एकराज दाहाल र कनकाई सब डिभिजन कार्यालयका सहायक वन अधिकृत भोलाप्रसाद चौधरीले सहजिकरण गरेका थिए ।

उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ झापाका पूर्व अध्यक्ष छत्र पौड्याल, उपभोक्ताहरु कमल बुढाथोकी, खेम काफ्ले, बुद्ध बराइली, युवराज पौड्याललगायतले जिज्ञासा राखेका थिए । अध्यक्ष कट्टेलले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष नारायणप्रसाद पौड्यालले र कार्यक्रमको सञ्चालन सचिव सरिता भण्डारीले गरेकी थिइन् ।