सन्तोष आचार्य,
हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा माघ १५ बाट सुरु भएको छ ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

त्यहाँ एक पात्र छिन्, गोमा । जसको एक बृद्धसँग बिहे हुन्छ । बिहेकै दिन घर भित्र्याएकै समयमा उता बृद्धको मृत्यु हुन्छ । त्यसपछिको एक्लो महिलाको जीवन, त्यसमाथि नाबालिक एक्लो जीवन कति दर्दनाक र दुःखदायी हुन्छ भन्ने देखाइएको छ । त्यसमाथि उनी गर्भवती हुन्छिन्, जीवन झन कष्टकर बन्छ । अन्ततः दुःखमा हुर्किएको सन्तानले उनलाई सुख दिन्छ, कथाको ह्याप्पी इन्डिङ यही छ ।

सबैलाई थाहा छ आठ वर्षीया बच्ची गर्भवती हुन सक्दैनन् । तर, पनि लेखकले एक कलिली बच्ची त्यसमाथि बिधुवा गर्भवती भएमा कति कठिन अवस्था सिर्जना हुन्छ भन्ने देखाउन खोजिएको छ । यो एक सामाजिक घटना हो । त्यो बेलाको घटना, जुन बेला समाजमा बाल बिबाह व्याप्त थियो । स्वस्थानीमा लेखकले पटक पटक उक्त कथा सबैलाई सुनाउनु भनेको छ ।

वरपर, आफ्ना परिवार, श्रीमान्, सन्तान, छिमेकी, सबैलाई राखेर सुनाउनु भनिएको छ । अर्थात् लेखक समाजमा ज्ञान बाँढ्न चाहन्थे, बाल बिबाह गरेमा कति भयावह स्थिति निम्तिन सक्छ भन्ने त्यो कुरा बुझाउन चाहन्थे । तर, बुझ्न सक्नु पर्यो नि ! एकातिर गोमा पात्रको बिजोग देखिराखिएको छ । बाल बिबाह गर्दा बाल बिधुवा भएको पढिराखिएको छ ।

अर्कोतिर आफ्नो छोरीलाई बृद्धसँग बिबाह गर्दिराखिएको छ । यो त अत्ति भएन र ? त्यहाँको हरेक घटनामा एक एक मोरल स्टोरी लुकेको छ । पढेर नि बुझ्न नसक्नु तिम्रो कमजोरी हो । स्वस्थानी समयसामयिक दस्तावेज हो । लेखकले कथा मार्फत शिक्षा दिन चाहन्थे, समाजमा लुकेको पीडालाई पौराणिक पात्र मार्फत उजागर गर्न चाहन्थे । तर, बुझ्ने क्षमता चाहियो नि ।

स्वस्थानी भारतमा पढिँदैन । यो हिन्दीमा थिएन । यो केवल नेपालको मौलिक पुस्तक हो । जसमा यही भएको स्थान सालीनदीको उल्लेख छ । कथा नेपालकै परिवेशमा घुमेको छ । लेखक मरेर गए तर लेखकले बुझाउन खोजेको कुरा आज स्वयंलाई शिक्षित ठान्ने अनि पश्चिमा महिला अधिकारको ठेली पढेर यहाँ लागु गर्न खोज्ने टपरटुइँयाले बुझ्न सक्दैन ।

स्वस्थानी ब्रत आरम्भ भएको छ । श्रुतिपरम्परामा चलिआएको कथालाई लेखनदासहरूले पुस्तकमा उतारेका हुन् । स्वस्थानी नेवारी भाषामा नि पाइन्छ । नेवार समाजमा पनि यसको ठुलो महत्व छ । काठमाडौ वरिपरिको परिवेशमा घुमेको छ यसको कथा ।

यहीको स्थानीय गाउँठाउँको कथा समेटिएको छ । महिलालाई बस्तुझैँ सडकमा मिल्काएको, उसले पाएको दुःखको बारेमा दर्शाइएको छ । यसमा महिलालाई नै महिलाले पाएको दुःख पढ्न लगाएर सम्पुर्ण महिलालाई शिक्षा दिन खोजिएको छ । महिला शिक्षा, निष्ठा, प्रेम र अनुशासनको यस महान पर्वको सबैलाई शुभकामना ।

लेखकः स्वस्थानीबारे हिन्दू अभियन्ता हुन् ।