झापा । बङ्गालको खाडीमा रहेको यास चक्रवातको प्रभाव नेपालमा पनि देखिन थालेको छ । अहिले प्रदेश १ का विभिन्न भूभागमा बिहानैदेखि हावाहुरी र पानी परिरहेको छ ।

लुम्बिनी प्रदेश हुँदै काठमाण्डौ उपत्यकासम्म नै बादलका रुपमा यास चक्रवातको प्रभाव देखिन थालेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

चक्रवातको प्रभावले दिउँसोपछि सुदूरपश्चिम बाहेकका सबै प्रदेशहरुमा बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । बङ्गालको खाडीमा रहेको चक्रवात आज र भोलि शक्तिशाली बनेर उत्तरपश्चिमतर्फ जाने देखिएको महाशाखाले जनाएको छ ।

चक्रवातको प्रभाव अबका केही दिन नेपालमा पनि देखिने भन्दै जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिनमार्फत सबैलाई सुरक्षित रहन अनुरोध गरेको छ । चक्रवातको कारण आज दिउँसोपछि वाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमाली, पहाडी भूभागका केही ठाउँमा हिमपात र हावाहुरी लाग्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

भोलिदेखि केही दिन देशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्ययम खालको वर्षा र प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने छ । पर्सि बिहीवार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनापानीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । हिमाली क्षेत्रमा हिमपात र तीव्र गतिको हावा चल्ने सम्भावना रहेकाले अबका केही दिन हिमाल आरोहणमा नजान र हिमाल छेउमा भएकाहरुले सुरक्षित रहन पनि महाशाखाले अनुरोध गरेको छ ।