काठमाण्डौ । अझै केहीदिन मनसुन सक्रिय रहने भएकोले देशभर पानी पर्ने मौसमविद्ले बताएका छन् ।
अहिले तराई नजिक रहेको मनसुन न्यून चापीय रेखा अझै केहीदिन रहने भएकोले आउँदो सोमबारसम्म पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
केही ठाउँमा दिउँसोपख केहीबेर घाम लागे पनि देशका धेरैजसो ठाउँमा बादल लागेर सामान्यदेखि मध्यम खालको वर्षा हुने र केही ठाउँमा ठूलो वर्षाको पनि सम्भावना रहेको उहाँले बताउनुभयो ।
सामान्यतया न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक आउँदा केही दिनमै भारततर्फ सर्ने गरेको भए पनि यस वर्ष केही लामो समय रहेकोले लगातार पानी परिरहेको मानन्धरले बताउनुभयो ।
मंगलवार देशका धेरैजसो ठाउँमा घाम लाग्ने र मंगलवार रातिदेखि नै फेरि मनसुन सक्रिय भइ केही दिन देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार विशेषगरी प्रदेश १ मा दैनिकजसो बदली र धेरै ठाउँमा पानी पर्ने सम्भावना देखिन्छ भने बाँकी प्रदेशमा पनि मौसम बदली भएर सामान्य र मध्यमदेखि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
निरन्तर पानी पर्दा बाढी, पहिरो, डुबान लगायतको समस्या हुने भएकोले सचेत रहन मौसम पूर्वानूमाान् महाशाखाले आग्रह गरेको छ ।