काठमाण्डौ । मनसुन बाहिरिने सङ्केत देखिन थालेको मौसमविद्ले बताएका छन् । अबको एक हप्तामा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार पश्चिमबाट पूर्वतिर हावा सर्न थालेकाले असोज १४ सम्ममा मनसुन बाहिरिने अनुमान छ । देशभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिएको मानिनेछ । लगातारको झरीपछि बिस्तारै पानी पर्ने क्रम कम हुँदै गएको छ ।

यो वर्षको मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यसपालि मनसुनको अवधि परिमार्जन गरिएको छ । यसपालिदेखि जुन १३ तारिखमा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने मिति तोकिएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने समय तोकिएको थियो ।

मौसमविद्का अनुसार हरेक १०-१० वर्षमा मनसुन भित्रने र बाहिरिने समय परिमार्जन गरिन्छ । यसैबीच आज देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भइ सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

आज देशभर नै मौसम पूर्णरुपमा खुल्ने सम्भावना छैन । एकछिन खुले पनि फेरि बादल लाग्ने सम्भावना छ । बेलुका ४ बजे पछाडि भने काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ ।

लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का थोरै स्थानमा हल्का बर्षा भइरहेको छ । यसैगरी, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज पनि हिजोअस्तिकै जस्तो दिउँसोभन्दा राति धेरै पानी पर्ने सम्भावना छ ।