काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले वर्षा हुने स्थानहरुका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार हाल देशमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।
यसैगरी, आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।