झापा (एजेन्सी) । भारतको झारखण्ड र आसपास बनेको न्यून चापीय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ।
हाल देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भई एक, दुई स्थानमा हल्का वर्षा भइरहेको छ। बिहीबार देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
शुक्रबार देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। शनिबार भने देशभर सामान्य बदली रही प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यसैबीच, गुलाब नामक चक्रवातका कारण भारतको महाराष्ट्रको जनजीवन प्रभावित भएको छ ।
महाराष्ट्रको कयौँ ठाउँमा लगातार तीव्र गतिको हावासहित ठूलो पानी परेको छ । त्यहाँ दुई दिनमा १२ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले महाराष्ट्रको पालघर र मुम्बईमा चक्रवातको प्रभाव धेरै परेको छ । मुम्बई अहमदाबादको राष्ट्रिय राजमार्गमा बाढीका कारण यातायातका सेवा ठप्प भएको छ ।
चक्रवातको गति प्रतिघण्टा ९५ किलोमिटर रहेको भारतीय मौसम विज्ञान विभागले जनाएका छ । चक्रवातका कारण यसअगाडि ओडिसा, मध्यप्रदेश, छत्तिसगढ, तथा आन्ध्रप्रदेशमा जनधनको नोक्सानी भएको थियो ।
प्रभावित राज्यका मानिसलाई नदी किनार, नहर तथा समुद्री किनारमा नजान चेतावनी दिइएको छ । गएको शनिवार बङ्गालको खाडीमा चक्रवात बनेपछि भारतका विभिन्न राज्यमा लगातार पानी पर्ने र तीव्र गतिमा हावा चल्दा जनजीवन प्रभावित बनेको हो ।