एजेन्सी । फेसबुकका संस्थापक मार्क जुकरबर्गले सामाजिक सञ्जालमा आएको बाधाका लागि माफी मागेका छन् ।

फेसबुक, म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्रामको सेवा सोमबार राति झन्डै ७ घण्टाका लागि रोकिएको थियो, जसका कारण विश्वभरका साढे ३ अर्बभन्दा धेरै मानिस प्रभावित भएका थिए ।

मार्क जुकरबर्गले आन्तरिक प्राविधिक समस्याका कारण चार वटै प्लेटफर्मको सेवा रोकिएपछि खेद व्यक्त गरेका छन् । सोमबार राति झन्डै साढे ९ बजे यी सेवा प्रभावित भएको थियो र आइतबार बिहान साढे ३ बजेतिर फेरि सुरु भएको थियो ।

केही घण्टाका लागि प्रयोगकर्ताहरूले आफूलाई सामाजिक सञ्जालको माध्यमविना नै पाए । यी माध्यमबाट मानिसहरू आफन्त, साथीभाइसँग सम्पर्क रहन्छन् ।

यसबीच आफ्नो ग्राहकसँग जोडिनका लागि सामाजिक सञ्जालको प्रयोग गर्ने साना व्यापारीले पनि नोक्सान बेहोर्नुपर्यो । यहाँसम्म कि मार्क जुकरबर्गले पनि नोक्सान बेहोर्नुपर्यो ।

बिजनेस वेबसाइट फर्च्युन्स ट्र्याकिङ सफ्टवेयरका अनुसार एक समय फेसबुकको शेयर तीव्र गतिमा ओरालो लाग्दा उनलाई ६ अर्ब अमेरिकी डलरको घाटा भयो ।

 

यस किसिमको अवरोधको जानकारी राख्ने वेबसाइट डाउनडिटेक्टरले फेसबुकलगायत सामाजिक सञ्जालमा अवरोध आउँदा केही घण्टामै विश्वभरका एक करोड ६ लाख उजुरी आएको थियो, यो अहिलेसम्मकै सबैभन्दा धेरै उजुरी हो ।

 

पछि फेसबुकले एक दोषपूर्ण कन्फिगरेशन परिवर्तनका कारण यो प्लेटफर्म अफलाइन भएको बताएको थियो । यसले वेबसाइट मात्र नभएर कम्पनीको आन्तरिक उपकरणलाई पनि प्रभावित गर्यो ।

 

यी उपकरणमा फेसबुकका आन्तरिक ईमेल र कर्मचारीहरूको ‘वर्क पास’ पनि समावेश छन् । केही रिपोर्टहरूका अनुसार यसबीचमा फेसबुकको मुख्य कार्यालयमा अशान्तको वातावरण बनेको थियो ।

 

समाजमा आफ्नो पहुँच र प्रभावलाई लिएर दबाब बनिरहेको समयमा कम्पनीको सामु यो समस्या आएको हो । फेसबुकका पूर्वकर्मचारी फ्रान्सेस हेगनले सीबीएस न्युजसँग भने, ‘कम्पनीले सुरक्षाभन्दा धेरै वृद्धिलाई प्राथमिकता दिएको छ ।’