काठमाडौँ । आज देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाका अनुसार आज बिहान देशभर सामान्यतया सफादेखि आंशिक बदली रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

 

यसैगरी, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

मनसुन बाहिरिन सुरु, ठूलो वर्षाको सम्भावना कम
ठूलो जनधनको क्षति गराउँदै औषत मितिभन्दा छ दिन ढिला गरी नेपालबाट मनसुन बाहिरिन थालेको छ । मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ भए पनि शुक्रबार (अक्टोबर ८)मा नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन थालेको हो ।

 

नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा पूर्ण र लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट मनसुन बहिर्गमन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

अबको केही दिनमा देशका बाँकी भू–भागबाट मनसुन बहिर्गमन हुने अनुमान गरिएको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

 

मौसम पूर्वानुमान महाशाखाले नियमितरूपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेकाले थप जानकारीपछि अद्यावधिक गरिने जनाएको छ । अहिले मनसुनको ठूलो प्रभाव नरहे पनि प्रदेश १, २, वाग्मती र गण्डकीमा हल्का बदलीको अवस्था रहेको छ । अब ठूलो वर्षाको सम्भावना भने कम छ ।

 

ती भूभागका एक, दुई स्थानमा हल्का वर्षा पनि भएको छ । शनिबार राति मुलुकभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।