काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। सुदूर पश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। साथै सुदूर पश्चिम प्रदेशको एक, दुई स्थानमा हल्का वर्षा भएको छ ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ। सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक, दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

 

त्यस्तै बिहीबार प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ। देशको पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

 

शुक्रबार भने देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।