झापा । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था झापाले आज मङ्गलबार अर्जुनधारा नगरपालिकाका शिक्षकमाझ सहकारी सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
२०६७ सालमा स्थापना भएको र जिल्लाभर १२ सयभन्दा बढी शिक्षक सदस्य रहेको यस सहकारीले अर्जुनधारा नगरपालिकाका विद्यालयमा भर्खरै शिक्षण सेवामा प्रवेश गरेका शिक्षकका लागि प्रशिक्षण आयोजना गरेको हो ।
पर्याप्त स्वास्थ्य सुरक्षा सतर्कतासहित नेपाल राष्ट्रिय शिक्षक संगठन, अर्जुनधाराको कार्यालयमा सम्पन्न कार्यक्रममा सहकारी अभियान, शिक्षक हित साकोसको अवस्था र गतिविधिको बारेमा प्रकाश पारिएको थियो ।
शिक्षक सेवा आयोगबाट गत साल स्थायी नियुक्तिको लागि सिफारिस भई आएका र अन्य स्थानबाट सरुवा आएका समेत गरी २५ जना शिक्षकहरुका लागि आयोजित प्रशिक्षणमा संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमले सहकारीसम्बन्धी विविध विषयमा प्रकाश पार्नुभएको थियो ।

नेराशिसंगठन अर्जुनधाराका अध्यक्ष सविता सुवेदीको अध्यक्षता र संस्थाका नगर संयोजक रुद्र खतिवडाको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष पुण्य सुवेदीले मन्तव्य राखेका थिए । सहभागी शिक्षकहरुले आफूहरु संस्थाको शेयर सदस्य बन्ने प्रतिबद्धता जाहेर गरेका थिए ।