झापा । शनिश्चरे माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको समूहले विद्यालयलाई १ लाख ५० हजार रुपैँयाबराबरको पुस्तक सहयोग गरेका छन् ।

शुक्रबार विद्यालयमा पुस्तक हस्तान्तरण तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरी २०६१/०६२ सालमा तत्कालिन १०+२ मा अध्ययन गरेका शनिश्चरे माविका पूर्व विद्यार्थीहरुले हस्तान्तरण गरेका हुन् । पूर्व विद्यार्थीहरुले रकम संकलन गरी विद्यालयको पुस्तकालयको स्तर वृद्धिका लागि पुस्तकहरु प्रदान गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक चेतामणि खनालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता अर्जुनधारा नगरपालिका, शिक्षा, युवातथा खेलकुद शाखाका प्रमुख तोयानाथ रेग्मी रहेका थिए भने पूर्व विव्यस अध्यक्ष युवराज नेपाललगायत शिक्षक तथा कर्मचारीहरु एवम् पूर्व विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

गत वैशाखमा सामाजिक सञ्जाल फेसबुकमा समूह निर्माण गरी उक्त समूहले १ लाख दश हजार रकम संकलन गरेको थियो भने सोही समूहका पूर्व विद्यार्थी सांग्रिला बुक प्रकाशनका प्रबन्ध निर्देशक मणि शर्माले प्रकाशनको तर्फबाट ४३ हजारबराबरको थप गरी जम्मा ४०१ थान पुस्तक हस्तान्तरण गरेका थिए ।

कार्यक्रमा पूर्व विद्यार्थीको तर्फबाट विकास दाहालले विद्यालयबाट अध्ययन सकेर विद्यार्थीहरुले कर्मभूमि जुनसुकै ठाउँलाई बनाए पनि आफूले अध्ययन गरेको विद्यालय सधैँ आफ्नो मनमा रहेने बताउँदै यसको किसिमको सहयोग भविष्यमापनि निरन्तर रहने बताए ।

विद्यालयको तर्फबाट प्रधानाध्यापक चेतामणि खनालले आफूले अध्ययन गरेको विद्यालयलाई यसरी सहयोग सहयोग गर्नुभएकोमा पूर्व विद्यार्थी समूहलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन पूर्व विद्यार्थी तथा विद्यालयका शिक्षक रुद्र खतिवडाले गरेका थिए ।